जनता टाइम्स

२८ भाद्र २०८३, आईतवार २०:३९

झलनाथ खनाल– चीनसँगको सम्बन्धलाई बहुआयामिक रणनीतिक सहकार्यमा विस्तार गर्नुपर्छ


काठमाडौं, भदौ २८ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक रणनीतिक सहकार्यमा विस्तार गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित ‘काष्ठमण्डप संवाद’को तेस्रो शृङ्खलाको समापन समारोहलाई सम्बोधन गर्दै खनालले नेपाल–चीन सम्बन्ध कार्यनीतिक मात्र नभई दूरगामी महत्त्वको रणनीतिक सम्बन्ध भएको बताउनुभयो ।

दुई देशबीचको सम्बन्धलाई रणनीतिक तहमा उठाइसकिएको उल्लेख गर्दै उहाँले व्यापार, कनेक्टिभिटी, दिगो विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

छिमेकी चीनले तीव्र विकास गरे पनि नेपालले त्यसबाट अपेक्षित लाभ लिन नसकेको उहाँको भनाइ थियो । चीनको विकास, पार्टी निर्माण र सुशासनबाट नेपालले सिक्न सक्ने भए पनि आफ्नै मौलिकतामा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

नेपालको पाँच हजार वर्ष लामो इतिहास, संस्कृति र सभ्यतालाई वर्तमान परिवर्तनसँग जोडेर अघि बढ्नुपर्ने खनालले बताउनुभयो ।

दुई देशबीचको व्यावहारिक सम्बन्ध विस्तार, व्यापार प्रवर्द्धन, कनेक्टिभिटी तथा दिगो विकासका चुनौती सम्बोधन गर्न संवाद फलदायी हुने उहाँले बताउनुभयो ।

हालै भोटेकोशी नदीमा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै खनालले जलवायु उत्थानशीलता तथा सीमापार विपद् जोखिम न्यूनीकरणलाई नेपाल–चीन दीर्घकालीन सहकार्यको मुख्य एजेन्डा बनाउनुपर्ने बताउनुभयो ।

जनता–जनताबीचको सांस्कृतिक सम्बन्ध तथा नयाँ पुस्ताका युवाबीचको सहकार्यले दुई देशबीचको सम्बन्धलाई भविष्यमा अझ प्रगाढ बनाउन सक्ने उहाँले धारणा राख्नुभयो ।

दुई दिनसम्म चलेको संवादमा नेपाल र चीनका विज्ञ, प्राध्यापक, कूटनीतिज्ञ तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।