जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०६:५३

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड, चारै ढोका खुला


काठमाडौं, भदौ २९ । हरितालिका तीजको अवसरमा पशुपति क्षेत्रमा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनलाई सहज रूपमा दर्शन गराउन चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ ।

भक्तजनको चापलाई व्यवस्थित गर्न स्वयंसेवक, सुरक्षाकर्मी तथा कर्मचारी परिचालन गरिएको छ । मन्दिर प्रवेश गरेपछि बढीमा दुई घण्टाभित्र दर्शन गरेर फर्कने गरी लाइन व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

शान्ति सुरक्षालाई ध्यानमा राख्दै कोषले पशुपति आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाउन आग्रह गरेको छ ।

भक्तजनका सवारीसाधन पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगंगाको खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर तथा गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ ।

सरकारी सवारीसाधन कोषको कार्यालय परिसरमा तथा सुरक्षा निकायका सवारीसाधन ट्राफिक प्रहरी प्रभागको कार्यालयमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।