जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०६:५८

तीजमा पशुपति क्षेत्रको सुरक्षामा २ हजार ५ सय प्रहरी परिचालन गरिने


काठमाडौं, भदौ २९ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर तथा आसपासको सुरक्षा व्यवस्थाका लागि २ हजार ५ सय प्रहरी परिचालन गरिने भएको छ ।

दर्शनार्थीको भीडलाई ध्यानमा राख्दै काठमाडौं प्रहरीले दुई सिफ्टमा प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार मन्दिर परिसरको सुरक्षा नेतृत्व डीएसपीले गर्नेछन् । सुरक्षा व्यवस्थापन तथा प्रहरी परिचालनको अनुगमन, निर्देशन र समन्वयका लागि आइतबार नै कमान्ड पोस्ट स्थापना गरिएको छ ।

समग्र सुरक्षा परिचालन तथा व्यवस्थापनको कमान्ड काठमाडौं परिसरका अपरेसन कमान्डरले गर्ने व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीको सुरक्षित आवागमन, भीड व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, चोरी तथा पाकेटमारी नियन्त्रण, ट्राफिक व्यवस्थापन र आकस्मिक उद्धारलाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिने एसपी थापाले बताउनुभयो ।

सुरक्षा अवस्थाको निगरानी तथा समन्वयका लागि कमान्ड पोस्टबाट नियमित अनुगमन गरिनेछ । मन्दिर क्षेत्रमा सीसीटीभीमार्फत निगरानीको व्यवस्था गरिएको छ भने चोरी, पाकेटमारी तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरिनेछ ।

पशुपतिनाथ दर्शनमा आउने भक्तजनलाई आफ्ना सामानको सुरक्षामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । कुनै समस्या परेमा नजिकैको हेल्प डेस्कमा सम्पर्क गर्नसमेत प्रहरीले अनुरोध गरेको छ ।