जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०७:००

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै


काठमाडौं, भदौ २९ । ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ ।

बालमैत्री वातावरणमा बाल अधिकारको प्रवर्द्धन गर्न नागरिक समाज तथा सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ ।

यसै भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढीका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका तथा स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण, मनोसामाजिक परामर्शलगायतका सेवा उपलब्ध गराउन राज्य तल्लीन रहेको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो ।

दिवसका अवसरमा राष्ट्रिय बाल अधिकार परिषद्लगायत विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।