जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०७:०५

आज तीज, पशुपतिमा यस्तो छ दर्शनको व्यवस्था


काठमाडौं, भदौ २९ । हरितालिका तीज पर्व आज देशभर शिव–पार्वतीको पूजा आराधना गरी मनाइँदैछ । तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्था मिलाएको छ ।

कोषले भक्तजनका लागि चारवटा दर्शन मार्ग निर्धारण गरेको छ । मित्रपार्क, जयवागेश्वरी, सिनामङ्गल तथा विमानस्थल र पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि छुट्टाछुट्टै मार्गबाट मन्दिरमा प्रवेश गरी दर्शनपछि बाहिरिने व्यवस्था गरिएको छ ।

मन्दिर बाहिर पाँचवटा लाइन र परिसरभित्र आठवटा लाइनको व्यवस्था गरिएको छ । एकपटकमा आठ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

भक्तजनले बढीमा दुई घण्टाभित्र दर्शन गरेर फर्किसक्ने गरी लाइन व्यवस्थापन गरिएको छ । सामान्य अवस्थामा करिब आधा घण्टामै दर्शन गर्न सक्ने गरी स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी परिचालन गरिएको छ ।

तीजलाई लक्षित गर्दै नेपाल प्रहरीसँगको समन्वयमा सादा पोशाकका प्रहरीसमेत पशुपति क्षेत्रमा परिचालन गरिएको छ । भक्तजनको सुरक्षा, भीड व्यवस्थापन तथा अन्य आवश्यक समन्वयका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको कोषले जनाएको छ ।

भक्तजनका सवारी साधन पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर तथा गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ ।

सरकारी नम्बर प्लेटका सवारीलाई कोषको कार्यालय परिसर र सुरक्षा निकायका सवारीलाई प्रहरी प्रभागमा पार्किङ गर्ने व्यवस्था गरिएको छ । भक्तजनका लागि तोकिएका अन्य स्थानमा पनि पार्किङको व्यवस्था मिलाइएको छ ।

जुत्ताचप्पल राख्न वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी तथा वाग्मती पारि राममन्दिरमुनिलगायत स्थान तोकिएका छन् ।

नाचगान तथा भक्ति सङ्गीत प्रस्तुतिका लागि हंसमण्डप, वनकाली, गौशाला, जयवागेश्वरी र मित्रपार्क क्षेत्र तोकिएको छ । सुरक्षाकर्मी र स्वयंसेवकको सहयोगमा चक्रपथ सडक बन्द नगरी पशुपति क्षेत्रको व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

तीजका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् । तीजमा पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।