जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०७:१०

आज केही भूभागमा भारी वर्षाको सम्भावना


काठमाडौं, भदौ २९ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले केही स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ ।

विभागका अनुसार दिउँसो कोसी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशभर साधारणतया बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले जनाएको छ ।