जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०९:४३

पशुपतिमा सशस्त्र प्रहरीको सुरक्षा, स्वास्थ्य र खानेपानी सेवा


काठमाडौं, भदौ २९ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले सुरक्षा, स्वास्थ्य तथा खानेपानी सेवा प्रदान गरेको छ ।

दर्शनार्थीको व्यवस्थापन, शान्तिसुरक्षा तथा स्वास्थ्य सेवाका लागि सशस्त्र प्रहरीले करिब ८ सय जनशक्ति परिचालन गरेको जनाएको छ । आइतबार बिहान २ बजेदेखि नै मन्दिर परिसरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सकसहितको मेडिकल टोली र एम्बुलेन्स पशुपति क्षेत्रमा परिचालन गरिएको छ । यस्तै, खानेपानी व्यवस्थापनका लागि सशस्त्र प्रहरी प्रधान कार्यालयबाट ट्यांकरसहितको टोली रातिदेखि नै खटाइएको छ ।

पशुपति क्षेत्रको राम मन्दिरनजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्धार टोलीलाई समेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिनुभयो ।

मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सूक्ष्म निगरानीका लागि सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, विश्वरूपा मन्दिर र गौरीघाटलगायत क्षेत्रमा शान्तिसुरक्षाका लागि गस्ती बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।