जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार ०९:४४

पशुपतिमा बिहानैदेखि भक्तजनको भीड, १ हजार २५० प्रहरी सुरक्षामा


काठमाडौं, भदौ २९ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । मन्दिर तथा आसपासका क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीले १ हजार २५० प्रहरी परिचालन गरेको छ ।

बिहान ३ः१५ बजेदेखि भक्तजनका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरिएपछि दर्शन गर्न सहज भएको छ । बिहान ७ बजेसम्म ९ हजारभन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरिसक्नुभएको छ ।

सुरक्षा स्रोतका अनुसार अहिले करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहनुभएको छ ।

नेपाल प्रहरीले भक्तजनलाई पशुपतिनाथको दर्शनमा सहजीकरण गर्नुका साथै मन्दिर परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ट्राफिक व्यवस्थापनसमेत मिलाइएको छ ।

सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सीसीटीभी र ड्रोनमार्फत मन्दिर परिसर तथा आसपासका क्षेत्रमा निगरानी गरिरहेको छ । सादा पोसाकमा प्रहरीसमेत परिचालन गरिएको छ ।

प्रहरीले आज दिनभर दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । सुरक्षा व्यवस्था प्रभावकारी हुँदा भक्तजनले सहज रूपमा पशुपतिनाथको दर्शन गर्न पाएको प्रतिक्रिया दिनुभएको छ ।