जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार १८:२३

आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण


काठमाडौं, २९ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि उद्धार गरिएका व्यक्तिसँग अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मै अन्तर्वार्ता लिएर युट्युबमार्फत प्रसारण गरिएको विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले विज्ञप्ति जारी गर्दै त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलमार्फत प्रसारण गरिएको विषय आफ्नो जानकारीमा आएको जनाएको हो ।

यसअघि सगरमाथा क्षेत्रमा सात दिनसम्म सम्पर्कविहीन भएर फेला परेका एक पथप्रदर्शक अस्पतालको आईसीयूमा उपचाररत अवस्थामा रहेको बेला अन्तर्वार्ता लिएर बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीप्रति पनि काउन्सिलको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रेस काउन्सिलले यस्ता सामग्रीबारे पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ ।

काउन्सिलका अनुसार विषयमा सम्बन्धित सञ्चारकर्मी, अस्पताल तथा नेपाल मेडिकल काउन्सिलसँग समेत पत्राचार गरिएको छ ।