जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार १८:३४

प्रधानमन्त्रीलाई भेटेलगत्तै सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष


काठमाडौं, भदौ २९ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका छन् ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारमा गरेको छलफलमा सहभागी भएर बाहिरिने क्रममा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले तामाङलाई सिंहदरबारभित्रैबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएपछि तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दरबारमार्ग प्रहरी वृत्तले पक्राउ अनुमति माग गरेको थियो ।

अरुण अर्यालको जाहेरीका आधारमा अघि बढेको बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

प्रहरीले जाहेरी तथा बैंकिङ विवरणबाट घटनामा तामाङको संलग्नता देखिएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (२) बमोजिम पक्राउ अनुमति मागेको थियो । काठमाडौं जिल्ला अदालतले सोही संहिताको दफा ९ को उपदफा (३) बमोजिम पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो ।

तामाङ किस्पाङ गाउँपालिका–३ का स्थायी बासिन्दा तथा गाउँपालिका अध्यक्ष हुन् । उनले काठमाडौं महानगरपालिका–१६, नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए । उनका बुवा लालसिंह तामाङ पनि कम्पनी सञ्चालनमा संलग्न रहेको बताइएको छ ।

कम्पनीका सञ्चालक तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी परेको थियो । प्रहरीले पक्राउ अनुमतिका लागि २०८३ वैशाख २८ गते दरबारमार्ग प्रहरी वृत्तको अपराध अनुसन्धान तथा कारबाही शाखामार्फत काठमाडौं जिल्ला अदालतमा पत्र पठाएको थियो ।

पक्राउ परेका तामाङलाई प्रहरीले सोमबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ ।