जनता टाइम्स

२९ भाद्र २०८३, सोमबार २०:२८

क्रान्तिशिखाको अभिव्यक्तिप्रति शहीद परिवारको आपत्ति, संसद भवनबाट घिसार्ने चेतावनी


काठमाडौं, भदौ २९ । जेनजी शहीद तथा घाइतेका परिवारजनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्न चेतावनी दिएका छन् ।

जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै धितालको अभिव्यक्तिले शहीद तथा घाइते परिवारको भावनामा चोट पुगेको बताएका हुन् ।

गत भदौ २३ गते आयोजित जेनजी स्मृति दिवसको कार्यक्रमको ढाँचा र अतिथिबारे धितालले प्रश्न उठाउँदै कार्यक्रमले जेनजी शहीदको अपमान भएको टिप्पणी गर्नुभएको थियो । एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा उहाँले उक्त कार्यक्रमलाई ‘कन्सर्ट’ को संज्ञासमेत दिनुभएको थियो ।

विरोध कार्यक्रममा जेनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठले धितालले आफ्नो भनाइ फिर्ता लिएर माफी माग्नुपर्ने बताउनुभयो । उहाँले माग पूरा नभए संसद् भवनबाट घिसार्ने चेतावनीसमेत दिनुभयो ।

‘हामी स्मृति दिवस मनाइरहँदा उहाँले कन्सर्ट भन्नुभयो । यस्तो पारा हो भने तपाईंलाई संसद् भवनबाट घिसारेर मानसिक अस्पताल लैजान नपरोस्,’ श्रेष्ठले भन्नुभयो ।

जेनजी शहीद र घाइतेलाई होच्याएर बोल्ने अधिकार धिताललाई नरहेको उहाँको भनाइ थियो । श्रेष्ठले धितालमाथि पार्टीगत अनुशासनात्मक कारबाही गर्न रास्वपासँग माग गर्नुभयो ।

माग सम्बोधन नभए मंगलबार रास्वपाको संसदीय दल र पार्टी कार्यालय घेराउ गर्ने चेतावनीसमेत उहाँले दिनुभयो ।

पत्रकार सम्मेलनमा जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेश चौलागाईंले पनि आक्रोशपूर्ण अभिव्यक्ति दिनुभयो । उहाँले शहीद परिवारसँग जोडेर गृहमन्त्री सुधन गुरुङलाई हटाउने प्रयास भए आफूहरू प्रतिरोधमा उत्रिने चेतावनी दिनुभयो ।

‘गृहमन्त्रीमाथि कुनै खेल खेल्ने चेष्टा गरे हामी जस्तोसुकै रक्तपात मच्चाउन पनि तयार छौँ । गत वर्ष छानी–छानी घरहरू जलाइएका थिए । त्योभन्दा भयानक हुन्छ । अब त भाग्ने मौका पनि दिने छैनौँ,’ चौलागाईंले भन्नुभयो ।