काठमाडौं, भदौ ३० । भक्तपुर र काठमाडौंको सीमाबाट बग्ने मनोहरा खोलामा गएराति बाढी आएको छ ।
खोलामा पानीको बहाव बढेपछि प्रहरीले राति नै खोला किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।
खोला किनारमा टहरा तथा घर बनाएर बस्दै आएका बासिन्दालाई भक्तपुरको लोकन्थली हाइटतर्फ सारिएको थियो । चाँगुनारायणको नगरकोट, काठमाडौंको साँखुलगायत क्षेत्रमा सोमबार बेलुकादेखि अबेरसम्म परेको भारी वर्षाका कारण मनोहरा खोलामा बाढी आएको हो ।
राति करिब ९ बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाउँदै खोला किनारमा नजान स्थानीयलाई आग्रह गरेको थियो ।
जडीबुटी–पेप्सीकोला सडकको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर तथा आफ्नै जग्गामा घरटहरा बनाएर बसेका बस्तीमा बाढीको पानी पसेको थियो ।
सरकारले मनोहरा क्षेत्रमा रहेको सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ । अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्