जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार ०७:०६

भोटेकोशी बाढीमा १ हजार ३९५ शव फेला, ५ हजार १३० अझै बेपत्ता


काठमाडौं, भदौ ३० । भोटेकोशी बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको शव फेला परेको छ भने ५ हजार १३० जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८६, गोरखामा ७७, धादिङमा ७२ र तनहुँमा ३८ शव छन् । उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

फेला परेका शवमध्ये १०४ जनाको सनाखत भइसकेको छ । सनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७३७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये विभिन्न ३३ वटा होल्डिङ सेन्टरमा नुवाकोटका १ हजार ४९९, रसुवाका ८२५ र धादिङका ९४ जना रहेका छन् ।

त्यस्तै, विभिन्न १९ अस्पतालमा ३४१ जनाको उपचार गरिएकामा २७८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । विभिन्न सुरक्षा निकायमार्फत थप ९ हजार ३५८ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभएको छ ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम जारी राखेका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा सरकारी र गैरसरकारी निकाय बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

प्राधिकरणले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धारकार्यलाई प्राथमिकताका साथ तीव्र बनाइएको जनाएको छ।