जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार ०७:०८

मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदै


काठमाडौं, भदौ ३० । मुस्ताङमा मंगलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ ।

सम्मेलनको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी हुन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि सोमबार साँझसम्म मुस्ताङ पुगिसकेका छन् ।

सम्मेलन व्यवस्थापनका लागि घरपझोङ गाउँपालिकाअन्तर्गतका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा अन्य संघसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले बताउनुभएको छ ।

सम्मेलनस्थलमा जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउने उद्देश्यले २८ फिट अग्लो ‘पृथ्वी रोइरहेको’ आकृतिको बेलुन राखिएको छ । मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसारका लागि ५० भन्दा बढी स्टलसमेत राखिएका छन् ।

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले जलवायु परिवर्तनका असरसम्बन्धी घोषणापत्र जारी गर्ने जनाइएको छ ।