काठमाडौं, भदौ ३० । देशका केही स्थानमा मंगलबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । राति कोसी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
पहाडी भूभागका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, कोसी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
राति देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्