जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार ०७:२१

रास्वपाको केन्द्रीय सदस्य हुँ भन्दै परिचय दुरुपयोग गर्ने व्यक्ति पक्राउ


काठमाडौं, भदौ ३० । आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै परिचय दुरुपयोग गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् ।

विभिन्न सार्वजनिक तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले विश्वकर्मालाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी कुनै पनि त्यस्तो पदमा नरहेको खुलेको प्रहरीले जनाएको छ । उनीविरुद्ध जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

विश्वकर्माले झुटो परिचय दिएर कसैलाई ठगी गरेको भए प्रहरीलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।