काठमाडौं, भदौ ३० । रसुवा र नुवाकोटमा भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनामध्ये चिलिमे, माथिल्लो त्रिशूली–१ र माथिल्लो त्रिशूली–३ ‘बी’ मा मात्रै हराइरहेका श्रमिक तथा कर्मचारीको खोज तथा उद्धार जारी रहेको छ।
बाढीबाट प्रभावित १३ जलविद्युत् आयोजनामध्ये अन्य आयोजनामा भने लामो समयसम्म खोजी गर्दा पनि कुनै प्रगति नभएपछि उद्धार कार्य रोकिएको हो।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार अझै ११ आयोजनामा कार्यरत ८ सय ६८ जना सम्पर्कविहीन छन्। लामो समयसम्म खोजी गर्दा पनि कुनै जीवित व्यक्ति फेला नपरेपछि अधिकांश आयोजनामा हराइरहेकाहरू जीवित अवस्थामा भेटिने सम्भावना नरहेको निष्कर्षमा नेपाल विद्युत् प्राधिकरण पुगेको छ।
प्राधिकरणका अनुसार चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीले थुपारेको माटो, कंक्रिट र ठूला ढुंगा हटाउने काम जारी छ। सुरुङभित्र जति खन्दै गयो, त्यति नै कंक्रिट र बोल्डर भेटिन थालेपछि उद्धार चुनौतीपूर्ण बनेको छ।
चिलिमेमा सुरुङभित्र ६ जना फसेको अनुमान गरिएको छ। नेपाली सेनाको उद्धार टोली सोमबार सुरुङभित्र करिब १ सय २५ मिटरसम्म पुगेको थियो। तर, उत्खननका क्रममा पानी भेटिएपछि अहिले खन्ने काम रोकिएको र पानी बाहिर निकाल्ने काम भइरहेको चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराम महर्जनले जानकारी दिनुभएको छ।
प्राधिकरणका एक अधिकारीका अनुसार चिलिमेमा आज वा भोलिसम्म सुरुङमा ‘ब्रेकथ्रु’ हुने अपेक्षा गरिएको छ।
माथिल्लो त्रिशूली–३ ‘बी’ मा पनि हराइरहेकाहरूको खोजी जारी छ। आयोजनाका भवन रहेको स्थानमा समेत उद्धार टोलीले खन्ने काम गरिरहेको छ। तर, भवनको संरचना नै नभेटिएर प्लिन्थ लेभल मात्रै फेला परेको प्राधिकरणका अधिकारीले बताउनुभएको छ।
उहाँका अनुसार पावर हाउस निर्माण हुने क्षेत्रसमेत खन्ने तयारी भइरहेको छ। हालसम्म त्यहाँ हराइरहेका व्यक्तिको कुनै अत्तोपत्तो लागेको छैन।
माथिल्लो त्रिशूली–१ मा सुरुङभित्र खोजी
२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा सुरुङ तथा हेडवर्क्स क्षेत्रमा हराइरहेकाहरूको खोजी भइरहेको छ। नेपाली सेनासहितको टोलीले अडिट नम्बर ३ बाट माथितर्फ सुरुङमा खोजी थालेको छ। तर, डेब्रिजको बहाव धेरै भएकाले सुरुङभित्र अघि बढ्न कठिन भइरहेको कम्पनीले जनाएको छ।
बाँधतर्फको सुरुङसम्म पुग्न करिब ४ किलोमिटर दूरी रहेकाले केही दिनभित्र सुरुङभित्रको अवस्था पत्ता लाग्ने कम्पनीको अपेक्षा छ।
कम्पनीका अनुसार आयोजनामा कार्यरत १ हजार ४ सय ३३ जनामध्ये ४ सय ९७ जना अझै सम्पर्कविहीन छन्। हालसम्म कम्पनीमा कार्यरत १० जनाको शव फेला परेको छ।
त्रिशूली–३ ‘ए’ मा उद्धारको बाटो फेरि पुरियो
६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारका लागि यसअघि खनिएको स्थानमा फेरि पहिरो खसेर बाटो पुरिएको छ। वर्षापछि सुरुङको प्रवेशमार्ग नै माटोले पुरिएपछि थप उद्धार अघि बढाउन नसकिएको प्राधिकरणका अधिकारीले बताउनुभएको छ।
मुख्य निकास सुरुङको मर्मत तथा अन्य काम कसरी अघि बढाउने भन्ने विषयमा छुट्टै समितिमार्फत सिफारिस गराउने तयारी प्राधिकरणले गरेको छ।
रसुवागढी जलविद्युत् आयोजनामा पनि थप खोजीबाट प्रगति नभएपछि उद्धार टोली हटाइएको छ।
लाङटाङ खोलामा खोजी स्थगित
२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा हराइरहेका श्रमिकको खोजी यसअघि नै स्थगित भइसकेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भदौ २१ गतेदेखि खोजी रोकेको हो।
इप्पानका अनुसार आयोजनाबाट अझै ३९ जना सम्पर्कविहीन छन्। बाढीका बेला आयोजनास्थलमा रहेका १९ जनाको भने उद्धार गरिएको थियो।
आयोजनाका प्रबन्धक विजयमोहन भट्टराईका अनुसार सुरुङभित्र दुई जनाको शव भेटिएपछि थप खोजी स्थगित गरिएको हो। पेनस्टक पाइप काटेर सुरुङभित्र प्रवेश गरी खोजी गर्दा भेटिएका दुवै शवको अवस्था विक्षिप्त रहेकाले पहिचान हुन सकेको छैन। डीएनए परीक्षणमार्फत पहिचान गरी परिवारलाई बुझाउने तयारी गरिएको छ।
विद्युत् क्षेत्रमा १ खर्ब ३४ अर्बभन्दा बढी क्षति
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार भोटेकोशी बाढीबाट जलविद्युत् आयोजना, सौर्य आयोजना, वितरण लाइन तथा पोल, सबस्टेसन र प्रसारण लाइनमा प्रारम्भिक रूपमा १ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
बाढीबाट कुल ७ सय ८३ दशमलव ३९ मेगावाट क्षमताका विद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक आकलन छ। त्यसमध्ये सञ्चालनमा रहेका ७ जलविद्युत् आयोजनाका २ सय ४९ दशमलव ४ मेगावाट र एउटा सौर्य आयोजनाको २४ दशमलव ३४ मेगावाट क्षमतामा क्षति पुगेको छ।
त्यस्तै, निर्माणाधीन ६ आयोजनाका ५ सय ८ दशमलव ६२ मेगावाट क्षमतामा क्षति पुगेको मन्त्रालयले जनाएको छ। बाढीका कारण कुल ४ सय १० दशमलव ६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो।














प्रतिक्रिया दिनुहोस्