जनता टाइम्स

३० भाद्र २०८३, मंगलवार २१:०८

तीन दशकअघिको नेपालसँग तुलना गरेर हेर्नुस्, मुलुकमा धेरै परिवर्तन भएको छ : देउवा


काठमाडौं, भदौ ३० । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पछिल्लो साढे तीन दशकमा ‘मुलुकमा केही भएन’ भन्ने भाष्यप्रति असहमति जनाउनुभएको छ।

उहाँले तीन दशकअघिको नेपाल र अहिलेको नेपालको वस्तुगत तुलना गरेर मुलुकले हासिल गरेको प्रगति मूल्याङ्कन गर्न आग्रह गर्नुभएको छ।

भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिकको पहुँचलगायत क्षेत्रमा तीन दशकको अवधिमा उल्लेखनीय परिवर्तन भएको देउवाले बताउनुभएको छ।

सीमित स्रोत र साधनका बाबजुद नेपालले हासिल गरेको प्रगति स्पष्ट देखिने उल्लेख गर्दै उहाँले विकास र परिवर्तनको मूल्याङ्कन गर्ने प्रभावकारी आधार तुलनात्मक अध्ययन भएको बताउनुभएको छ।

विगत ३५ वर्षमा लामो राजनीतिक संक्रमणको अन्त्य गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायत राजनीतिक दलहरूले गरेका कामको वस्तुगत समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ।

तर प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्न नहुने देउवाले बताउनुभएको छ। जनताको अपेक्षा पूरा गर्न, सुशासन कायम गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न र मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउन नयाँ सोच, ऊर्जा र प्रतिबद्धता आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ।

उपलब्धिको समीक्षा गर्दा नेपालको इतिहास र यथार्थलाई बिर्सन नहुने उहाँको धारणा छ।