काठमाडौं, भदौ ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा सञ्चारकर्मीले अन्तर्वार्ता लिएको विषय गम्भीर रहेको बताउनुभएको छ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँले आईसीयूजस्तो संवेदनशील कक्षमा बिरामीको अन्तर्वार्ता लिनु र त्यसका लागि अनुमति दिनु दुवै गम्भीर विषय भएको बताउनुभएको हो।
उहाँले दुई दिनअघि सार्वजनिक भएको अन्तर्वार्ताले समाजको संवेदनशीलता उदांगो पारिदिएको टिप्पणी गर्नुभएको छ।
‘मानिसको जीवनभन्दा ठूलो अर्को कुनै विषय हुन सक्दैन’ भन्दै उहाँले बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिने आईसीयूमा यस्तो गतिविधि हुनु उचित नभएको बताउनुभएको छ।
रसुवा बाढीमा परी माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका व्यक्तिको आईसीयूमै अन्तर्वार्ता लिई ‘इन्साइड द बंकर’ नामक युट्युब च्यानलबाट प्रसारण गरिएको विषयमा सांसद बास्कोटाले आपत्ति जनाउनुभएको हो।
यसअघि प्रेस काउन्सिल नेपालले पनि उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको थियो। काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले विज्ञप्तिमार्फत घटनाबारे ध्यानाकर्षण भएको जनाउनुभएको थियो।














प्रतिक्रिया दिनुहोस्