जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार ०८:५४

माइतीघरमा लगाइएका टेन्ट प्रहरीले हटायो, राति धर्ना बस्न नपाइने


काठमाडौं, ३१ भदौ । काठमाडौंको माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले बुधबार बिहान हटाएको छ।

रातिको समयमा माइतीघरमा टेन्ट टाँगेर नबस्न प्रहरीले गरेको आग्रह अटेर गरेपछि टेन्ट हटाइएको हो।

प्रहरीका अनुसार राति टेन्ट टाँगेर बस्दा सुरक्षा जोखिमसँगै स्वास्थ्यमा समेत समस्या हुनसक्ने भएकाले टेन्ट हटाइएको हो। यसअघि मंगलबार प्रहरीले माइकिङ गर्दै राति माइतीघर परिसरमा नबस्न आग्रह गरेको थियो।

माइतीघरमा धर्ना बस्दै आएका व्यक्तिहरूमध्ये अघिल्लो महिना एकजनाले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेको र अर्का एकजनाले पनि त्यस्तै प्रयास गर्न खोजेको प्रहरीले जनाएको छ।

प्रहरीले रातिको समयमा धर्ना तथा टेन्ट राख्न रोक लगाए पनि दिउँसो माइतीघरमा हुने कार्यक्रम र प्रदर्शनमा भने रोक नलगाइएको जनाएको छ।