काठमाडौं, भदौ ३१ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले विगतका आयोगले अघि बढाएको कामको परिणामलाई आफ्नो उपलब्धिका रूपमा प्रचार गर्न खोजेको आरोप लगाउनुभएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपालको १५औँ स्थापना दिवस तथा ‘नेपालमा भूमि समस्या : समाधानका प्रयास, उपलब्धि र चुनौती’ विषयक अन्तरक्रियामा पोखरेलले सरकारले अहिले वितरण गरिरहेका जग्गाधनी पुर्जा विगतका आयोगले गरेको कामको परिणाम भएको दाबी गर्नुभएको हो।
उहाँका अनुसार विगतका आयोगले नापजाँच, कित्ताकाट तथा आवश्यक कागजात व्यवस्थापन गरी निर्णयको अन्तिम चरणमा पुर्याएका ठाउँमा अहिले पुर्जा वितरण भइरहेको छ।
सरकारले सामाजिक सञ्जालमार्फत नयाँ ढंगले जग्गाधनी पुर्जा वितरण गरिरहेको प्रचार गरिरहेको भन्दै पोखरेलले विगतका आयोगले गरेको कामको परिणाम भएको स्वीकार गर्न सरकार तयार नभएको आरोप लगाउनुभयो।
काठमाडौं उपत्यकाबाहिर पुर्जा वितरण हुनुको कारण पनि विगतका आयोगले प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेका स्थानबाट वितरण सुरु हुनु रहेको उहाँले बताउनुभयो।
वाग्मती किनारबाट हटाइएका सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरणबाट प्रक्रिया सुरु भएको भए मात्रै वर्तमान सरकारले आफ्नो प्रतिबद्धताअनुसार काम गरेको जस लिन सक्ने उहाँको भनाइ थियो।














प्रतिक्रिया दिनुहोस्