जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १८:१५

उपचार र जीवनयापन खर्च माग्दै झापामा जेन-जी आन्दोलनका घाइतेको आमरण अनशन


काठमाडौं, भदौ ३१ । झापाको बिर्तामोडमा जेन-जी आन्दोलनका घाइतेहरूले उपचार र जीवनयापन खर्चलगायतका माग राख्दै आमरण अनशन सुरु गरेका छन्।

आन्दोलनका क्रममा पेटमा गोली लागेका अर्जुनधारा नगरपालिका–६ का विवेक दनुवारले बिर्तामोडमा आमरण अनशन सुरु गर्नुभएको हो। उहाँको अनशनमा आन्दोलनका अन्य घाइतेहरूले पनि ऐक्यबद्धता जनाएका छन्।

दनुवारले घाइतेहरूको निःशुल्क तथा गुणस्तरीय उपचारको व्यवस्था गर्नुपर्ने र हालसम्म उपचारमा लागेको खर्च राज्यले बेहोर्नुपर्ने माग गर्नुभएको छ। साथै घाइतेलाई उचित क्षतिपूर्ति तथा दीर्घकालीन जीवनयापनको व्यवस्था गर्नुपर्ने उहाँको माग छ।

घाइते तथा उनीहरूका परिवार र सहिद परिवारका सदस्यलाई निःशुल्क शिक्षा, सार्वजनिक यातायातमा घाइतेलाई विशेष छुट तथा घाइते र सहिद परिवारका माग सम्बोधन गर्न विशेष कानुन निर्माण गर्नुपर्ने माग पनि अनशनकारीहरूले राखेका छन्।

जेन-जी आन्दोलन कुनै दललाई बहुमतको सरकार बनाउने प्रयोजनका लागि मात्र प्रयोग भएको जस्तो देखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

झापामा जेन-जी आन्दोलनका क्रममा १०० जनाभन्दा बढी घाइते भएको बताइए पनि हालसम्म ४३ जनाले मात्रै घाइते परिचयपत्र पाएको जनाइएको छ।