जनता टाइम्स

३१ भाद्र २०८३, बुधबार १८:१७

गगनको टिप्पणी– प्रधानमन्त्रीको रवैया ठीक छैन


काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति प्रश्न उठाउँदै संसद्को गरिमा कायम राख्न आग्रह गर्नुभएको छ।

सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपद्को समयमा सरकारलाई बिनासर्त सहयोग गर्न सबै दल तयार रहेको बताउनुभयो। तर संसद् र संसदीय समितिको भूमिकालाई सरकारले बेवास्ता गर्न नहुने उहाँको भनाइ थियो।

थापाले संसदीय संयन्त्रले मेहनत गरेर प्रतिवेदन तयार पार्ने तर प्रधानमन्त्रीले त्यसलाई सामान्य छलफलमा समेत रुचि नदेखाउने अवस्था आउन नहुने बताउनुभयो।

उहाँले सर्वदलीय संसदीय संयन्त्रको प्रक्रिया तत्काल अघि बढाउन सभामुखसँग आग्रह गर्ने निर्णय भएको जानकारी दिनुभयो।

थापाले संसद्प्रति प्रधानमन्त्रीको रवैया आफूलाई ठीक नलागेको बताउनुभयो। प्रधानमन्त्रीले संसद्लाई सकेसम्म बेवास्ता गर्ने गरेको भन्दै उहाँले संसदीय समितिको गठनपछि त्यसको मान र मर्यादा कायम राख्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीले मेहनत गरेर समिति बनाउने, रिपोर्ट दिने तर प्रधानमन्त्रीले त्यसलाई सामान्य छलफलमा पनि रुचि नदेखाउने अवस्था नबनोस्।’

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएकोमा धन्यवाद दिँदै आफ्नै दलको सरकार भएकाले संसदीय संयन्त्रको भूमिका र मर्यादाबारे प्रधानमन्त्रीलाई सचेत गराउन आग्रह गर्नुभयो।