काठमाडौं, भदौ ३१ । नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले बुधबार जारी गर्नुभएको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाउनुभएको छ।
आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दाबी गर्नुभएको छ। चाडपर्व नजिकिँदै गर्दा बजारमा मूल्यवृद्धि भएर सर्वसाधारण थप मारमा परेको उहाँको भनाइ छ।
ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेको भन्दै आचार्यले सरकारको आलोचना गर्नुभएको छ। साथै, ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ दिई ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको उहाँले दाबी गर्नुभएको छ।
सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने, साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपसमेत एमालेले लगाएको छ।
सरकारको कमजोरी र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दाबी गर्दै एमालेले त्यसको भर्त्सना गरेको छ। सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिका विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने चेतावनीसमेत आचार्यले दिनुभएको छ।
‘जनतालाई भ्रमित पार्ने होइन, आफ्ना कमजोरीको जवाफ दिने साहस गर’ भन्दै एमालेले सरकारलाई चुनौती दिएको छ।














प्रतिक्रिया दिनुहोस्