काठमाडौं, भदौ ३१ । जिल्ला न्यायाधीश हिमलाल बेल्बासेलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको विषयमा नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ।
न्याय परिषद्ले मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश बेल्बासेसहित तीन जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। बेल्बासेलाई उच्च अदालत जनकपुरमा पदस्थापनका लागि सिफारिस गरिएको छ। उहाँ उमेर हदका कारण केही दिनमै अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ।
नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले बुधबार जारी गर्नुभएको विज्ञप्तिमा अवकाशको मुखमा वरियता मिचेर बेल्बासेलाई उच्च अदालतमा सिफारिस गरिएको भन्दै आपत्ति जनाइएको छ।
बारले यस्तो निर्णयले न्यायालयप्रतिको जनआस्थामा असर पर्ने जनाएको छ। न्यायिक पदलाई राजनीतिक पुरस्कारका रूपमा प्रयोग गर्न नहुने र कुनै राजनीतिक दलको स्वार्थ पूरा गर्नु न्याय सेवाको पदोन्नतिको आधार बन्न नसक्ने बारको भनाइ छ।
बेल्बासे जिल्ला न्यायाधीशको वरियतामा १३औँ स्थानमा रहेको र अवकाश हुन केही दिनअघि मात्रै उच्च अदालतका लागि सिफारिस भएको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेको छ। न्याय परिषद्ले भने सिफारिसको आधार र कारण सार्वजनिक गरेको छैन।
बारले न्यायपालिकाको स्वतन्त्रता र स्वायत्ततामा असर पर्ने विवादास्पद निर्णय नगर्न न्याय परिषद्लाई सचेत गराएको छ।














प्रतिक्रिया दिनुहोस्