धादिङ, असोज १ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन् ।
भदौ १० र १४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक निर्माण गरी बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
धादिङ प्रहरीले कृष्णभीरमा गएरातिदेखि नै सवारीसाधन आवतजावत भए पनि बिहीबार बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ । बुधबार कृष्णभीर नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । उक्त पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम रहेकाले चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
विशेषगरी वर्षा भइरहेको समयमा सडकमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न र सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले आग्रह गरेको छ ।
सडकको अवस्था तथा यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय र सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न प्रहरीले अनुरोध गरेको छ ।
कृष्णभीरमा यातायात सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा भइरहेको पहिरो रोकथामको काम तत्कालका लागि रोकिएको छ । सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने कामसमेत सुरु गरिएको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया दिनुहोस्