जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार ०८:०४

गाउँपालिका उपाध्यक्षसहित नेकपाका १० यी जनप्रतिनिधिको गयो पद


काठमाडौं, असोज १ । निर्वाचनको समयमा पार्टी परित्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १० जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सूचना जारी गर्दै पार्टी परित्याग गरेका १० जना जनप्रतिनिधिको पद राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीअनुसार रिक्त भएको जनाएको छ ।

पद रिक्त हुनेमा कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी र खोटाङको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई हुनुहुन्छ । गिरी तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट २०७९ को स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । गत निर्वाचनका क्रममा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो ।

त्यस्तै धनुषाको शहीदनगर नगरपालिका–८ का वडाध्यक्ष तनुकलाल कुसियत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीवा पासवान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद पनि रिक्त भएको छ ।

खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई, डोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मारिजबहादुर खड्का र जिरी नगरपालिका–३ का वडाध्यक्ष खेटराज घिमिरे तथा मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पदसमेत रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

यी १० जना जनप्रतिनिधि २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित हुनुभएको थियो । माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ ।

राजनीतिक दलसम्बन्धी कानुनमा कुनै दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरेमा निजको पद रिक्त हुने व्यवस्था रहेको छ ।