काठमाडौं, असोज १ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति पुगेको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीका कारण देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा चालक, सहचालक र यात्रुसहित ३४४ जना बेपत्ता भएका छन् ।
महासङ्घका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुगेको छ । ती सवारीसाधनमा कार्यरत ५० जना मजदुर बेपत्ता भएका छन् ।
नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बसमा क्षति पुग्दा २१ जना बेपत्ता भएका छन् । भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन् ।
त्यस्तै, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुगेको छ । सो घटनामा १० चालक बेपत्ता भएका छन् ।
नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुग्दा ४५ चालक बेपत्ता भएका छन् ।
नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् । नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा पनि क्षति पुगेको महासङ्घले जनाएको छ ।
पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्रु बेपत्ता भएका छन् । धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासङ्घका महासचिव गौतमले बताउनुभएको छ ।














प्रतिक्रिया दिनुहोस्