जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार ०८:१६

कालिगढहरूले विश्वकर्माको पूजा–आराधना गरी आज विश्वकर्मा पर्व मनाउँदै


काठमाडौं, १ असोज । कालिगढहरूले बिहीबार भगवान् विश्वकर्माको पूजा–आराधना गरी विश्वकर्मा पर्व मनाउँदैछन् ।

हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा–आराधना गर्ने परम्परा रहेको छ । विभिन्न कलकारखाना तथा उद्योगमा विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गर्ने गरिन्छ । यस अवसरमा कलकारखाना सजाएर श्रमिकहरूले पर्व मनाउने गरेका छन् ।

पूजापछि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मतीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर विसर्जन गर्ने परम्परा रहेको छ ।

धार्मिक विश्वासअनुसार यस दिन कालिगढहरूले प्रयोग गर्ने औजारको पूजा–आराधना गरेमा औजार लामो समय टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने गुण प्राप्त हुन्छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई लुकाएको धार्मिक विश्वास रहेको प्रा. तोयराज नेपालले बताउनुभएको छ ।

एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा सुरु भएको उहाँले बताउनुभएको छ ।

प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मान्ने गरिन्छ ।