जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार ०८:१९

इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको ट्रम्पको दाबी


काठमाडौं, असोज १ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यको नजिक पुगेको दाबी गर्नुभएको छ ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौता गर्न निकै इच्छुक रहेको बताउनुभएको हो । उहाँले इरानी पक्षसँग प्रत्यक्ष सम्पर्क भइरहेको दाबीसमेत गर्नुभएको छ ।

युद्ध कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले युद्ध अन्तिम चरणतिर पुगेको बताउनुभएको छ । उहाँका अनुसार इरानले अमेरिकासँग प्रत्यक्ष सम्पर्क गरेर सम्झौता गर्न चाहेको छ ।

इरानबाट आएको सन्देश प्रत्यक्ष हो वा मध्यस्थकर्तामार्फत भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले इरानी पक्षबाट आफूलाई सोझै जानकारी प्राप्त भएको दाबी गर्नुभएको छ ।

तर इरानी पक्षले तत्काल सम्झौता गर्न आतुर रहेको ट्रम्पको दाबीप्रति सावधानी देखाएको छ । बुधबार इरानी अधिकारीहरूले आफ्ना सर्त पूरा नभएसम्म वार्ता पुनः सुरु नहुने संकेत दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।