जनता टाइम्स

१ आश्विन २०८३, बिहीबार २१:२२

बाढीमा बेपत्ता पत्रकार टेकराज थामीको अन्त्येष्टि गर्ने निर्णय


काठमाडौं, असोज १ । रसुवा बाढीका क्रममा बेपत्ता भएका पत्रकार टेकराज थामीको खोजी गर्दा पनि अवस्था पत्ता नलागेपछि परिवारले अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

नेपाल थामी समाजका अनुसार परिवारको सल्लाह र निर्णयअनुसार थामीको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

नयाँ पत्रिकामा कार्यरत थामी कार्यालयबाट चार दिनको बिदा लिएर रसुवा जानुभएको थियो। एक कार्यक्रममा सहभागी हुन केरुङ जाने जानकारी उहाँले परिवारलाई गराउनुभएको थियो। उहाँ चीनतर्फ पुग्नुभएको थियो वा थिएन भन्ने भने पुष्टि हुन सकेको छैन।

बाढी आउनुभन्दा अघिल्लो दिन रसुवातर्फ जानुभएका थामीसँग सोही दिन साँझ परिवारको सम्पर्क भएको थियो। त्यसपछि उहाँसँग कुनै सम्पर्क हुन नसकेको श्रीमती कालिका खड्काले बताउनुभएको छ।

खोजी तथा उद्धारका लागि विभिन्न निकायबाट प्रयास भए पनि उहाँको अवस्था पत्ता लाग्न सकेन। बाढी आएको दिन बिहान ८ बजेर २१ मिनेटसम्म उहाँको मोबाइलको लोकेसन देखिएको र त्यसपछि फोन बन्द भएको परिवारले जनाएको छ।

थामी अपराध तथा अनुसन्धानमूलक पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। उहाँ एक दशकभन्दा बढी समयदेखि नयाँ पत्रिकामा कार्यरत हुनुहुन्थ्यो। उहाँ नेपाल थामी समाजका पूर्वउपाध्यक्षसमेत हुनुहुन्थ्यो।

दोलखा घर भएका थामीका श्रीमती र एक छोरी हुनुहुन्छ।