महोत्तरी, असोज १ । प्रधानमन्त्री बालेन्द्र शाहको गृह जिल्ला महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा एन्टिस्नेक भेनम अभाव भएपछि उपचार सेवा प्रभावित भएको छ।
तराई र पहाडका २१ जिल्लाका सर्पदंशका बिरामीलाई सेवा दिँदै आएको केन्द्रमा अत्यावश्यक औषधि सकिएपछि बुधबार सूचना जारी गर्दै उपचार सेवा सञ्चालन गर्न नसकिने जानकारी गराइएको हो।
केन्द्रका व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद देवकोटाका अनुसार एन्टिस्नेक भेनम उपलब्ध हुन नसकेपछि सर्पदंशका बिरामीलाई जनकपुर रेफर गर्नुपर्ने अवस्था आएको छ।
उहाँका अनुसार औषधि उपलब्ध गराउन विभिन्न निकायसँग पहल गरे पनि सफल नभएपछि सेवा रोक्नुपरेको हो। नेपाली सेनाले १५ वर्षदेखि केन्द्रमा चौबीसै घण्टा सर्पदंश उपचार सेवा दिँदै आएको छ।
बर्दिबास र आसपासका क्षेत्रमा नियमित रूपमा सर्पदंशका घटना हुने भएकाले स्थानीयस्तरमै उपचार पाउने सेवा प्रभावित हुँदा बिरामीलाई थप जोखिम हुने स्थानीयको भनाइ छ। विशेषगरी विषालु सर्पले टोकेका बिरामीलाई समयमै एन्टिस्नेक भेनम उपलब्ध गराउनुपर्ने भएकाले जनकपुरसम्म लैजानुपर्ने अवस्थाले उपचारमा ढिलाइ हुन सक्ने बताइएको छ।
यसैबीच, बर्दिबास नगरपालिका र औरही नगरपालिकाका दुई जना सर्पदंशका बिरामीलाई केन्द्रले उपलब्ध औषधिबाट उपचार गराई बर्दिबास जनसेवा अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ।
बर्दिबास सेवा समितिका अध्यक्ष हिरा गौतमले अवरुद्ध उपचार सेवा तत्काल सञ्चालनका लागि तीनै तहका सरकारसँग आग्रह गर्नुभएको छ। उहाँका अनुसार प्रदेश सरकारका स्वास्थ्य मन्त्रीलाई औषधि व्यवस्थापनका लागि जानकारी गराइसकिएको छ।
१५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको केन्द्रमा औषधि अभावका कारण पहिलोपटक उपचार सेवा अवरुद्ध भएको केन्द्रले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्