काठमाडौं, असोज १ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा अलग–अलग महाधिवेशनको अवस्था कायम रहे कांग्रेस विभाजन हुनसक्ने चेतावनी दिनुभएको छ।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खड्काले सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरेर पार्टीका अग्रज नेताहरूसँग तत्काल संवाद गर्न आग्रह गर्नुभएको हो।
उहाँले दुईवटा अलग–अलग अधिवेशन रोक्न नसकिए कांग्रेस विभाजन रोक्न कठिन हुने बताउनुभएको छ। त्यसपछि संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका अन्य राजनीतिक दलसमेत विभाजनतर्फ जानसक्ने आफ्नो आशंका रहेको उहाँको भनाइ छ।
खड्काले असोज ३ गतेदेखि सुरु हुने गरी घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समय सार्न र १४औँ महाधिवेशनबाट निर्वाचित पूर्वसभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग आफ्नै पहलमा तत्काल वार्ता तथा संवाद सुरु गर्न थापालाई आग्रह गर्नुभएको छ।
उहाँले यी दुई कदम चाल्न सके कांग्रेसको एकता अझै कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ।
कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने तथा असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।
तर कांग्रेसभित्रको अर्को समूहले असोज १५ गतेदेखि छुट्टै वडा अधिवेशन गर्ने तयारी गरेको छ। उक्त समूहले असोज ३ गतेदेखि सुरु हुने अधिवेशन प्रक्रियामा सहभागी नहुनसमेत आह्वान गरेको छ।
यसैबीच सभापति थापाले भने असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गर्नुभएको छ।
खड्काले पार्टीभित्रको वर्तमान विवादलाई तत्काल समाधान गर्न साहसिक कदम चाल्नसमेत आग्रह गर्नुभएको छ। उहाँले आफू पार्टी एकताका लागि आवश्यक त्याग गर्न तयार रहेको उल्लेख गर्दै कानुन, अदालतको निर्णय र पार्टी विधानका कारण थापालाई समस्या नपर्ने दाबीसमेत गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्