जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार ०७:३६

बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं, असोज २ । आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको तराई भू-भागका थोरै स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

शुक्रबार राति कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली र बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ।

राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा तथा बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।