काठमाडौं, असोज २ । श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंका नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा विराटनगर किंग्सबाट खेल्नुहुने भएको छ।
श्रीलंकाको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी असलंका सन् २०२१ देखि राष्ट्रिय टोलीमा रहनुभएको छ। उहाँले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्नुभएको थियो।
सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा र आक्रामक ब्याटरका रूपमा स्थापित हुनुभएको हो। उहाँ बलिङमा समेत योगदान दिन सक्ने अलराउन्डरका रूपमा परिचित हुनुहुन्छ।
असलंकाले हालसम्म ७७ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ४ सय ६६ रन बनाउनुका साथै ७ विकेट लिनुभएको छ। समग्र टी–२० क्रिकेटमा उहाँले १८५ खेलबाट ३ हजार ७ सय १५ रन र ३७ विकेट लिनुभएको छ।
विराटनगर किंग्सले असलंकाको आगमनले एनपीएलको तेस्रो संस्करणका लागि टोली थप बलियो हुने विश्वास व्यक्त गरेको छ।
असलंकाले क्यारेबियन प्रिमियर लिग (सीपीएल), लंका प्रिमियर लिग (एलपीएल), पाकिस्तान सुपर लिग (पीएसएल) तथा यूएईको इन्टरनेसनल लिग टी–२० लगायतका प्रमुख फ्रेन्चाइज प्रतियोगितामा समेत खेलिसक्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्