जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार ०७:५१

भोटेकोशी बाढीमा १८८ इन्जिनियर तथा प्राविधिक अझै बेपत्ता


काठमाडौं, असोज २ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीको २२ दिन बितिसक्दा पनि विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना सम्पर्कविहीन रहेका छन्।

नेपाल इन्जिनियर्स एसोसिएसनले संकलन गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये १ सय ८८ जना इन्जिनियर तथा प्राविधिक छन्। तीमध्ये १७ जनाको शव फेला परिसकेको छ भने दुई जनाको उद्धार गरिएको छ।

एसोसिएसनका अनुसार सबैभन्दा धेरै माथिल्लो त्रिशूली–१ आयोजनाका ६० जना इन्जिनियर तथा प्राविधिक सम्पर्कविहीन छन्। माथिल्लो त्रिशूली–३ बीका ४२, माथिल्लो त्रिशूली–३ एका ३०, रसुवागढी जलविद्युत् आयोजनाका २५, लाङटाङ खोलाका २०, मैलुङ खोलाका ६ र चिलिमे जलविद्युत् आयोजनाका ५ जना इन्जिनियर तथा प्राविधिकको अवस्था अझै अज्ञात छ।

बाढीपछि लामो समयसम्म आफन्तको अवस्था पत्ता नलागेपछि केही परिवारले कुशको शव बनाएर अन्तिम संस्कारसमेत गरेका छन्।

माथिल्लो त्रिशूली–३ बीमा कार्यरत इलेक्ट्रिकल इन्जिनियर सोमनाथ पौडेल, उहाँकी श्रीमती तारा उपाध्याय तथा दुई जुम्ल्याहा छोराछोरी बाढीपछि सम्पर्कविहीन छन्। परिवारले चारै जनाको कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ।

सोही आयोजनामा कार्यरत इन्जिनियर दम्पती राजेश शर्मा पौडेल र प्रमिला पाठक तथा उनीहरूका चार वर्षीय जुम्ल्याहा छोराछोरी पनि बाढीपछि सम्पर्कविहीन छन्। लामो समयसम्म कुनै जानकारी नआएपछि परिवारले उनीहरूको पनि कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ।

माथिल्लो त्रिशूली–३ बीमै कार्यरत इन्जिनियर सुबोध बेल्बासे र रसुवागढी जलविद्युत् आयोजनाका इलेक्ट्रिकल इन्जिनियर समिर लामिछाने पनि बाढीपछि सम्पर्कविहीन छन्।

नेपाल इन्जिनियर्स एसोसिएसनका सूचना अधिकारी तथा इन्जिनियर यामकृष्ण पौडेलले ठूलो संख्यामा दक्ष इन्जिनियर तथा प्राविधिक सम्पर्कविहीन हुनु जलविद्युत् क्षेत्रसँगै मुलुककै लागि ठूलो क्षति भएको बताउनुभएको छ।

उहाँका अनुसार लामो समय जलविद्युत् क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका दक्ष जनशक्ति गुम्दा त्यसको पूर्ति तत्काल सम्भव हुँदैन। बाढीपछि अन्य आयोजनामा कार्यरत इन्जिनियर तथा प्राविधिकको मनोबलसमेत प्रभावित भएको उहाँले बताउनुभएको छ।

बाढीबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न जलविद्युत् आयोजनाका आवास, कार्यालय, पहुँचमार्ग र सुरुङलगायत संरचनामा समेत ठूलो क्षति पुगेको छ। सम्पर्कविहीन श्रमिक, इन्जिनियर, प्राविधिक तथा अन्य जनशक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ।