जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार ०७:५३

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस


काठमाडौं, असोज २ । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले सिंहको योगदानको स्मरण गर्दै विविध कार्यक्रम आयोजना गरेका छन्।

२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रह सिंहले अस्वीकार गर्दै कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको थियो।

सिंहको जन्म १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा भएको थियो। उहाँको निधन २०५४ साल असोज २ गते भएको हो।

प्रजातन्त्र र राणाशासनविरुद्धको आन्दोलनमा सक्रिय सिंह प्रजा परिषद्को सदस्य हुँदै राणाशासनविरुद्धको अभियानमा सहभागी हुनुभएको थियो। २००७ सालको क्रान्तिमा उहाँले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षको नेतृत्व गर्नुभएको थियो।

२०१५ सालको पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बन्नुभएका सिंहले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताउनुभएको थियो।

२०२५ सालमा बीपी कोइरालासँगै सुन्दरीजलबाट रिहा भएपछि उहाँले भारतमा निर्वासनमा रहेर राजनीतिक संगठन विस्तार गर्नुभएको थियो। २०३३ सालमा बीपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएका सिंह पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएको थियो।

२०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमाण्डरका रूपमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो।