काठमाडौं, असोज २ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा भारतीय समकक्षी निर्मला सीतारमणसँग भएको भेटवार्तामा नेपाली झण्डा नदेखिएको विषयले कूटनीतिक प्रोटोकलमाथि प्रश्न उठाएको छ।
बिहीबार नयाँदिल्लीस्थित भारतीय वित्त मन्त्रालयमा वाग्ले र सीतारमणबीच ‘वान अन वान’ तथा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। सार्वजनिक तस्बिरमा सीतारमणको छेउमा भारतीय झण्डा देखिए पनि वाग्लेको छेउमा नेपाली झण्डा देखिएको छैन।
प्रतिनिधिमण्डलस्तरीय वार्ताको तस्बिरमा समेत दुवैतर्फ भारतीय झण्डा राखिएको देखिन्छ। बैठकस्थलमा राखिएको डिजिटल बोर्डमा भने नेपाल र भारत दुवै देशका झण्डा देखाइएको छ।

कूटनीतिक भेटवार्तामा सम्बन्धित दुवै देशका राष्ट्रिय झण्डा राख्ने प्रचलन रहेको भन्दै यस विषयमा प्रश्न उठेको हो। विदेश भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलका लागि राष्ट्रिय झण्डाको व्यवस्थापन परराष्ट्र मन्त्रालय तथा सम्बन्धित नेपाली नियोगमार्फत हुने गर्छ।
यस विषयमा अर्थमन्त्रीका प्रेस संयोजक नवीन ढुंगानाले डिजिटल बोर्डमा दुवै देशका झण्डा रहेको र अर्थमन्त्री वाग्लेको अगाडि टेबलमा सानो आकारको नेपाली झण्डा राखिएको बताउनुभएको छ। तर नेपाली प्रतिनिधिमण्डल बसेकोतर्फ भारतीय झण्डा राखिएको विषयमा उहाँले स्पष्ट जवाफ दिनुभएको छैन।

अर्थमन्त्री वाग्ले भारत भ्रमणका क्रममा भारतीय समकक्षी सीतारमणसहित उच्च अधिकारीसँग भेटवार्तामा हुनुहुन्छ। भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, व्यापार, लगानी, ऊर्जा तथा बाढीपछिको पुनर्निर्माणलगायत विषयमा छलफल भइरहेको छ।












प्रतिक्रिया दिनुहोस्