जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २०:२२

प्रधानमन्त्री शाहको जेन–जी सांसदलाई सुझाव– ‘प्रश्न मात्रै होइन, समाधान पनि दिनुस्’


काठमाडौं, असोज २ । प्रधानमन्त्री वालेन्द्र शाहले जेन–जी उमेर समूहका सांसदहरूलाई संसद्मा सरकारलाई प्रश्न मात्रै नगरी समाधानका उपाय र सुधारका ठोस प्रस्तावसमेत अघि सार्न आग्रह गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित ३० वर्षमुनिका केही सांसदसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले युवा सांसदको प्रस्तुति पुरानो पुस्ताका सांसदभन्दा फरक हुनुपर्ने बताउनुभएको हो।

सांसदहरूले सरकारमाथि प्रश्न मात्रै उठाउँदा समाधानका उपाय नआएको र त्यसले सरकारलाई काम गर्न कठिन भएको प्रधानमन्त्रीको भनाइ थियो। उहाँले संसद् प्रश्न गर्ने ठाउँ मात्रै नभई समाधान दिने र सुधारका लागि पहल गर्ने थलो पनि भएको बताउनुभएको सहभागी सांसदहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले युवा पुस्तालाई सूचना प्रविधि, स्टार्टअप, खेलकुद, रोजगारी र पर्यटनजस्ता क्षेत्रमा जोड्नुपर्नेमा पनि जोड दिनुभएको थियो। राजनीति बाहेकका क्षेत्रमा युवाको सहभागिता र अवसर बढाउनुपर्ने उहाँको भनाइ थियो।

छलफलमा सांसदहरूले जेन–जी आन्दोलनका माग संस्थागत गर्न, सुशासन, पारदर्शिता र समावेशिता कायम गर्न तथा युवाका मुद्दालाई नीतिगत रूपमा सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।

सांसद सुलभ खरेलले निर्वाचन प्रणाली तथा राजनीतिक दलसम्बन्धी कानुनमा सुधार गर्नुपर्ने र सामाजिक समस्यालाई नीतिगत सुधारमार्फत दीर्घकालीन रूपमा सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको बताउनुभयो।

सांसद शिवशंकर यादवले युवालाई सूचना प्रविधि र खेलकुदमा जोड्नुपर्ने, मधेसमा लागुऔषधको कुलतमा फसेका युवालाई सही दिशामा ल्याउनुपर्ने तथा सरकारी नियुक्तिमा समावेशिता सुनिश्चित गर्नुपर्ने विषय उठाउनुभएको थियो।

जवाफमा प्रधानमन्त्री शाहले सरकार पनि सुरुवाती चरणमा रहेकाले सिक्दै र सुधार गर्दै अघि बढिरहेको बताउनुभएको सांसद यादवले जानकारी दिनुभयो। उहाँले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘यो पहिलो सेमेस्टर हो भनेर लिनुपर्छ। हामीलाई धेरै कुरा धेरै ठाउँबाट आइरहेका छन्, सुधार गर्दै अगाडि बढाउनुपर्छ।’

सांसद केपी खनालले सूचना प्रविधिमा युवालाई प्रोत्साहन, खेलकुदको ग्रासरुट विकास, नदी तथा सहरको सौन्दर्यीकरण र सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो।

यस्तै, सांसद मनिष खनालले जेन–जी आन्दोलनले उठाएका मुद्दालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्रीले ३० वर्षमुनिका सांसदले उठाउने मुद्दा ६० वर्षभन्दा माथिका सांसदका मुद्दाभन्दा फरक हुनुपर्ने र आगामी पुस्ताका एजेन्डासहित संसद्मा प्रस्तुत हुन आग्रह गर्नुभएको थियो।

सांसदहरूले जेन–जी आन्दोलनमा सहभागी भएर हिरासतमा रहेका व्यक्तिको विषय, रोजगारी सिर्जना, महँगी नियन्त्रण, दुर्गम विद्यालयमा कम्प्युटरको पहुँच तथा सरकार र सांसदबीचको समन्वय बढाउने विषय पनि प्रधानमन्त्रीसमक्ष राखेका थिए।

प्रधानमन्त्री शाहले सांसदहरूसँगको भेटघाट बढाउने बताउँदै मन्त्रीहरूले दैनिक एक घण्टा सांसदहरूसँग भेट्ने व्यवस्था गर्न लागिएको जानकारीसमेत दिनुभएको सहभागी सांसदहरूले बताएका छन्।