जनता टाइम्स

२ आश्विन २०८३, शुक्रबार २०:२६

बालेनलाई गगनको सुझाव– राष्ट्रसंघ महासभामा तथ्य र प्रमाणसहित प्रस्तुत हुनुस्


काठमाडौं,  २ असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको मुद्दा तथ्य, प्रमाण र वैज्ञानिक आधारसहित प्रस्तुत गर्न सुझाव दिनुभएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘द ग्रीन टेबल’को १८औँ शृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहको महासभा सहभागितालाई नेपालको हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउने अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभएको हो।

प्रधानमन्त्री शाहका लागि महासभामा सहभागी हुनु पहिलो अनुभव भए पनि त्यसलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभएको छ। विगतका सरकारका अनुभव र उपलब्धि अध्ययन गर्दै आगामी सरकारका लागि समेत मार्गदर्शन हुने गरी निर्धक्क भएर नेपालको धारणा राख्न उहाँले सुझाव दिनुभएको हो।

थापाले महासभाको तयारीमा प्रधानमन्त्रीको सचिवालयमा मात्रै निर्भर नभई जलवायु परिवर्तनका क्षेत्रमा अध्ययन गरिरहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता तथा सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गर्न आग्रह गर्नुभएको छ।

नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति र विपद्का घटनालाई अनुमानका आधारमा नभई वैज्ञानिक अध्ययन र प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ छ। भोटेकोशीमा आएको बाढीजस्ता विपद्लाई नेपालको जलवायु जोखिम र क्षतिको प्रमाणका रूपमा प्रस्तुत गर्न सकिने उहाँले बताउनुभएको छ।

नेपालले महासभामा कुन विषयका लागि आवाज उठाउने र कुन मुद्दामा अन्तर्राष्ट्रिय समर्थन जुटाउने भन्ने स्पष्ट रणनीति बनाउनुपर्नेमा पनि थापाले जोड दिनुभएको छ।

नेपालले जलवायु परिवर्तनबाट भएको हानि–नोक्सानीको विषयसँगै अनुदानमा आधारित जलवायु वित्तका लागि समेत प्रभावकारी रूपमा लबिङ गर्नुपर्ने उहाँको भनाइ छ। विगतका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका ‘क्लाइमेट जस्टिस’, ‘हिमालदेखि महासागरसम्म’ लगायतका विषयलाई अध्ययन गरी त्यसलाई थप तथ्य र प्रमाणसहित अघि बढाउनुपर्ने उहाँले बताउनुभएको छ।