जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ०७:५५

संविधान जारी भएको ११ वर्ष, आज विविध कार्यक्रम गरी मनाइँदै


काठमाडौं, असोज ३ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

सरकारले संविधान जारी भएको असोज ३ गतेलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदैछ।

संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र तथा विभिन्न सामाजिक संस्थाले पनि दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछन्। विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत संविधान दिवसका कार्यक्रम आयोजना हुनेछन्।

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको थियो। तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट संविधान जारी भएको घोषणा गर्नुभएको थियो।

नेपालको संविधान ३५ भाग, ३०८ धारा र ९ अनुसूचीमा विभाजित छ। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षतालगायतका व्यवस्था आत्मसात गरेको छ।

संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसमेत अघि सारेको छ।