काठमाडौं, असोज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताउनुभएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेका व्यवस्थाको पूर्ण परिपालनाबाट सुदृढ, सभ्य र जबाफदेही प्रशासन निर्माण गर्नुपर्ने बताउनुभएको हो।
आम नागरिकलाई विधिको शासनको प्रत्याभूति दिलाउन तथा संविधानबाट प्राप्त अवसर र उपलब्धिको संरक्षण एवं संस्थागत गर्न आवश्यक रहेको उहाँले उल्लेख गर्नुभएको छ। सुशासन र समृद्धिको लक्ष्यतर्फ अघि बढ्न सबै नेपालीबीच साझा सहमति आवश्यक रहेको उहाँको भनाइ छ।
राष्ट्रपति पौडेलले संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्नेमा जोड दिनुभएको छ। संविधानले प्रत्याभूत गरेका सेवा–सुविधामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्नुपर्ने उहाँले बताउनुभएको छ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन संविधान दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्