काठमाडौं, असोज ३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको आरोप लगाउनुभएको छ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले संविधान संशोधनका नाममा यसको मूल मर्ममाथि प्रहार गर्ने प्रयास स्वीकार्य नहुने बताउनुभएको हो।
उहाँले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलको प्रतिवेदन खारेज गर्न माग गर्नुभएको छ। संविधान संशोधनलाई सत्ता स्वार्थको विषय बनाउन नहुने भन्दै उहाँले बहालवाला सर्वोच्च अदालतका न्यायाधीश वा पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा नयाँ संविधान संशोधन कार्यदल गठन गरी राष्ट्रिय सहमतिका आधारमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्नुभएको छ।
आङ्देम्बेले संविधान कार्यान्वयनको प्रश्न पनि गम्भीर रहेको बताउनुभएको छ। कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्नुपर्ने भन्दै उहाँले संवैधानिक अंगलाई कार्यपालिकाको नियन्त्रणमा राख्ने प्रयास स्वीकार्य नहुने बताउनुभएको छ।
उहाँले संविधानको मर्ममाथि खेलवाड नगर्न तथा संवैधानिक संस्थाको गरिमा कायम राख्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। आवश्यक सुधारका लागि संविधान संशोधन गर्न सकिने भए पनि संशोधनका नाममा संविधानको मूल भावना कमजोर पार्न नहुने उहाँको भनाइ छ।
संविधान संशोधनका लागि गठन गरिएको कार्यदलको क्षेत्राधिकार र संविधानका आधारभूत मूल्य–मान्यतामाथि हस्तक्षेप हुन सक्ने भन्दै विभिन्न राजनीतिक दलले लिखित असहमति जनाएका थिए। कार्यदलले भने विज्ञ, राजनीतिक दल, विभिन्न संस्था तथा नागरिकबाट सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्