जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ०८:१५

भ्रममा नपरौँ, एमाले अझ ऊर्जासाथ अघि बढ्दैछ : महेश बस्नेत


काठमाडौं, असोज ३ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले पार्टी विभाजन, पुनर्गठन तथा नेतृत्व परिवर्तनबारे सार्वजनिक भइरहेका समाचार र चर्चालाई भ्रामक भएको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले ‘भ्रममा नपरौँ, एकताबद्ध एमाले अझ ऊर्जाका साथ अघि बढ्दैछ’ भन्नुभएको हो। एमाले कमजोर बनाउने नियोजित योजनाअन्तर्गत विभिन्न अफवाह फैलाइएको उहाँको दाबी छ।

केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘एमाले विभाजन हुँदैछ’, ‘एमाले–नेकपा मिल्दैछ’, नेतृत्व परिवर्तन हुँदैछ तथा पार्टीको सूर्य चिह्न र एमाले नाम नै नरहन सक्छ भन्नेलगायतका प्रचार भइरहेको उहाँले बताउनुभएको छ।

बस्नेतका अनुसार असोज ३ गते निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आफ्नो प्रतिवेदनलाई एकरूपता दिनेछ। असोज ४ गते सचिवालय बैठक बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तथा असोज ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्ने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभएको छ।

केन्द्रीय कमिटी बैठकपछि एमाले वर्तमान चुनौतीको सामना गर्दै अझ मजबुत, एकताबद्ध र ऊर्जाशील भएर अघि बढ्ने बस्नेतले बताउनुभएको छ।

उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति समेत आलोचना गर्दै सरकारलाई ‘अधिनायकवादी, निरंकुश र जनविरोधी’ भएको आरोप लगाउनुभएको छ। सरकारविरुद्ध लोकतान्त्रिक संघर्षलाई सशक्त बनाउने र एमाले नयाँ ऊर्जा तथा उत्साहका साथ जनतामाझ जाने उहाँको भनाइ छ।