जनता टाइम्स

३ आश्विन २०८३, शनिबार ०८:१९

संघीय गणतन्त्र र जनअधिकारमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड


काठमाडौं, असोज ३ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताले प्राप्त गरेका अधिकार कमजोर पार्ने वा पछाडि फर्काउने कुनै पनि प्रयास स्वीकार्य नहुने बताउनुभएको छ ।

संविधान दिवस–२०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले संविधानका मूल्य–मान्यता र जनअधिकार कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको हो।

उहाँले नेपालको संविधान दशकौँ लामो जनसंघर्ष, जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनलगायत विभिन्न आन्दोलन, त्याग र बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति भएको उल्लेख गर्नुभएको छ ।

२०७२ असोज ३ गते संविधानसभाबाट जारी संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा संस्थागत गर्दै सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको उहाँले बताउनुभएको छ ।

संविधानले मौलिक अधिकार, सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, स्वशासन तथा लोकतान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गरेको उल्लेख गर्दै प्रचण्डले दिगो शान्ति, सुशासन, विकास, समृद्धि र समाजवादउन्मुख सामाजिक–आर्थिक रूपान्तरणलाई संविधानको मूल उद्देश्यका रूपमा औँल्याउनुभएको छ ।

संविधान जारी भएको ११ वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भए पनि संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तन अझै पूरा हुन बाँकी रहेको उहाँको भनाइ छ । संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको उहाँले बताउनुभएको छ ।

राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि उत्पन्न हुन सक्ने चुनौतीप्रति सबै सजग हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । राष्ट्रिय हितको रक्षा कुनै एउटा दल वा शक्तिको मात्र नभई सम्पूर्ण नेपालीको साझा दायित्व भएको उहाँले बताउनुभएको छ ।

राजनीतिक परिवर्तनलाई आर्थिक–सामाजिक रूपान्तरणसँग जोड्दै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ । संविधानका अक्षर मात्र नभई यसको आत्मासमेत जनताको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

संविधान दिवसका अवसरमा प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । साथै, लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, नागरिक अधिकार, राष्ट्रिय स्वाधीनता र जनताको मुक्तिका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली तथा निरंकुशता, अन्याय र विभेदविरुद्ध संघर्ष गर्ने अग्रज तथा लोकतन्त्रका योद्धाप्रति सम्मान व्यक्त गर्नुभएको छ ।