जनता टाइम्स

३ आश्विन २०८३, शनिबार १८:५४

बिहीबारदेखि ठूलो वर्षा हुने चर्चा, मौसम विभाग भन्छ–अवस्था अझै स्पष्ट छैन


काठमाडौं, असोज ३ । असोज ८ गते अर्थात् आउँदो बिहीबारदेखि पाँच दिनसम्म नेपालमा ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा चर्चा बढेको छ ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्म भारी वर्षा हुन सक्ने भन्दै किसान तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्नुभएको छ ।

मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि बंगालको खाडी र अण्डमान सागरको बीचमा विकसित भइरहेको न्यूनचापीय प्रणाली केही दिनमा चक्रवाती आँधीमा परिणत हुन सक्ने बताउनुभएको छ ।

उहाँका अनुसार उक्त प्रणाली आँधीमा परिणत भए त्यसको नाम ‘अर्नब’ रहनेछ र असोज ८, ९ र १० गते नेपालमा प्रभाव पर्न सक्ने देखिएको छ । ती दिन सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगित गर्नु उपयुक्त हुने उहाँको सुझाव छ । यद्यपि, वर्षाको तीव्रता कति हुने भन्ने अझै स्पष्ट भइनसकेको उहाँले बताउनुभएको छ ।

मौसमविद्हरूको अनुमानपछि सामाजिक सञ्जालमा ठूलो वर्षाबारे चर्चा चुलिए पनि जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भने अहिले नै अवस्था पूर्ण रूपमा स्पष्ट भइनसकेको जनाएको छ ।

महाशाखाका अनुसार उक्त मौसम प्रणाली हाल नेपालबाट निकै टाढा रहेको छ । असोज ६ गतेपछि पूर्वी नेपालबाट यसको आंशिक प्रभाव सुरु हुन सक्ने र साताको अन्त्यतिर कोशी, मधेस तथा बागमती प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुन सक्ने साप्ताहिक बुलेटिनमा उल्लेख छ ।

प्रणालीको प्रभाव पहाड र हिमालको तुलनामा मध्य नेपालको तराई तथा काठमाडौं उपत्यकामा बढी पर्न सक्ने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । तर, प्रणालीको दिशा र प्रभाव परिवर्तन हुन सक्ने भएकाले अहिले नै निश्चित निष्कर्ष निकाल्न नमिल्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाको पछि नलाग्न र मौसमसम्बन्धी पछिल्ला आधिकारिक सूचना तथा पूर्वानुमानमा ध्यान दिन आग्रह गरेको छ ।