काठमाडौं, असोज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सके मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई भाषणमा सीमित नराखी नागरिकको जीवनमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
उहाँले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक रहेको बताउनुभयो । शासकीय संरचनामा मात्र परिवर्तन गरेर नागरिकका अपेक्षा पूरा नहुने भन्दै उहाँले राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो ।
‘असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कार स्थापित गर्न सक्यौँ भने मात्र लोकतन्त्र बलियो हुन्छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो ।
नागरिकलाई निराशामा राखेर कुनै पनि राज्य र व्यवस्था सफल हुन नसक्ने उल्लेख गर्दै उहाँले संविधान नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको बताउनुभयो ।
उहाँले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी सरकार तथा नागरिक सर्वोच्चता स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई समान हक, अधिकार, सामाजिक न्याय र समृद्धि सुनिश्चित नगरी संविधानका वाचा पूरा हुन नसक्ने उहाँको भनाइ थियो ।
राष्ट्रपति पौडेलले यस वर्षको संविधान दिवस बाढी तथा प्राकृतिक विपत्तिको पीडाबीच मनाउनुपरेको उल्लेख गर्दै विपत्तिले विकासको अवधारणालाई पुनर्विचार गर्नुपर्ने पाठ सिकाएको बताउनुभयो ।
विकास केवल सडक, पुल र भवन निर्माण मात्र नभई मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि भएको उहाँले बताउनुभयो । पुनर्निर्माण गर्दा भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
जलवायु परिवर्तनका चुनौतीबीच नेपालको विकासको ढाँचा अझ मानवीय, न्यायपूर्ण र प्रकृतिमैत्री हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।
उहाँले संविधानले नेपाललाई लोकतन्त्र, संघीयता र बहुलवादमा आधारित समावेशी राज्य निर्माण गर्ने अवसर दिएको बताउनुभयो । संघीयतालाई अवसरका रूपमा उपयोग गर्दै देश विकासको अनिवार्य तहका रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संविधान जारी भएको ११ वर्ष पूरा भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले संविधान निर्माणसम्म आइपुग्न नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष, त्याग र बलिदान गरेको स्मरण गर्नुभयो ।
उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनका क्रममा जेल, नेल, निर्वासन र यातना भोगेका लोकतन्त्रका योद्धाप्रति सम्मान तथा आभार व्यक्त गर्नुभयो ।
यसैगरी, बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभयो । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको खोज र पहिचानको कामना पनि गर्नुभयो ।
राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्