काठमाडौं, ४ असोज । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गरिएको छ । साझा यातायातले संविधान दिवसको अवसर पारेर शनिबारदेखि थप रुटमा विद्युतीय बस सञ्चालनमा ल्याउनुभएको छ ।
साझा यातायातले यसअघि दुईवटा रुटमा सञ्चालन गर्दै आएको रात्रिकालीन सेवालाई विस्तार गरी ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालन गर्नुभएको हो ।
नयाँ व्यवस्थाअनुसार बुढानीलकण्ठ–गोदावरी रुटमा ६, जगाती–रत्नपार्क–ठमेलमा ६, विमानस्थल–नागढुंगामा ४, कीर्तिपुर–जमलमा ४ तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ ८ वटा बस सञ्चालन हुनेछन् ।
यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीनवटा बस सञ्चालन हुनेछन् ।
रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । यात्रुको चाप र आवश्यकताअनुसार बसको संख्या तथा सेवा सञ्चालनको समय समायोजन गरिने साझा यातायातले जनाएको छ ।
रात्रिकालीन सार्वजनिक यातायातको पहुँच कम रहेको अवस्थामा सेवा विस्तार गरिएको साझा यातायातको भनाइ छ । सेवा विस्तारसँगै अबेरसम्म काम गर्ने कर्मचारी, विद्यार्थी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य यात्रुलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।
विद्युतीय बसको प्रयोगले सार्वजनिक यातायातको पहुँच विस्तारसँगै वायु प्रदूषण न्यूनीकरणमा समेत सहयोग पुग्ने साझा यातायातले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्