जनता टाइम्स

४ आश्विन २०८३, आईतवार ०७:०६

पहिरोले कर्णाली करिडोर ठप्प, यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र


हुम्ला, असोज ४ । कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड गाउँपालिका–२, रिपनजिकै छारेभिरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

शनिबार पहिरोसँगै ठूला ढुंगा खसेर करिब एक सय मिटर सडक अवरुद्ध भएपछि करिडोरमा सवारी आवागमन ठप्प भएको हो । सडकमा ठूलाठूला ढुंगा थुप्रिएपछि यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

सिमकोटमा सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र पर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन पहल भइरहेको बताउनुभएको छ । उहाँका अनुसार ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन ।

सडक विभागका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम अघि बढाउने तयारी गरिएको उहाँले बताउनुभएको छ ।

करिब एक सय मिटर क्षेत्रमा थुप्रिएका ठूला ढुंगा फुटाउनुपर्ने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रशासनले जनाएको छ । सम्भावित रूपमा पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।

वर्षायाममा बाढी, पहिरो र ढुंगा खस्ने समस्याका कारण कर्णाली करिडोर पटक–पटक अवरुद्ध हुँदै आएको छ । करिडोर अवरुद्ध हुँदा हुम्लाका नागरिकको आवतजावतसँगै उपचार, खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ ।