गोरखा, असोज ४ । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङको भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।
भच्चेकबाट चित्रेपोखरीतर्फ जाँदै गरेको ग १ ज ६३८९ नम्बरको महिन्द्रा बोलेरो जीप आइतबार बिहान करिब साढे १० बजे दुर्घटना भएको हो । दुर्घटनामा जीपले च्यापिएर थालाजुङ काउलेकी ८१ वर्षीया लालमाया गुरुङको मृत्यु भएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा सिरानचोक–७ का ६८ वर्षीय कमलबहादुर घिमिरे, ४८ वर्षीया सीता पाण्डे, ४८ वर्षीय लोकबहादुर खड्का, ७३ वर्षीय कुलबहादुर सार्की, सिरानचोक–६ सिम्लेका ६८ वर्षीया सीता गुरुङ, वडा नम्बर ७ डाँडागाउँकी २७ वर्षीया रोजिना नेपाली र उनकी दुई वर्षीया छोरी रेविका नेपाली घाइते भएका छन् ।
घाइते सबैको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप चालक विकास गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया दिनुहोस्